म्याग्दी । बेलायतको सर्वोच्च युद्ध पदक भिक्टोरिया क्रस विजेता एवं समाजसेवी तुलबहादुर पुनको सम्झनामा बेगखोलाबासीले उनको समाधिस्थलमै पुगेर पुष्पगुच्छा अर्पण गरेका छन् । दोश्रो विश्वयुद्दमा बहादुरी देखाएका पुनलाई वेलायती महारानी एलिजाबेथ द्धितीयाको जन्मोत्सवमा हरेक बर्ष वेलायत बोलाउने गरिन्थ्यो ।
गोर्खा आन्दोलनका महानायकको रुपमा समेत चिनिने भिसी विजेता पुनको परिवारले आफ्नै जग्गामा बनाएको समाधिस्थलमा बादुक, तिप्ल्याङ लगायत आसपासका क्षेत्रबाट आएका स्थानीयले पुख्यौली नाँच, नौमति वाजा सहित समाधिस्थलमा पुगेर पुष्प अर्पणका साथै भिसी पुनको योगदानको स्मरण गरेका थिए । बेगखोलामा शिक्षा, स्वास्थ्य, खानेपानी सहित विभिन्न भौतिक पूर्वाधारसंगै स्वर्गीय पुनको परिवारको सक्रियतामा ब्यक्तिगत रुपमै लाखौं रुपैयाँको सहयोग गरेर गाउँ बनाएका भिसी विजेता पुनलाई गाउँलेले गाउँका जन्मदाताका रुपमा समेत चिन्छन् ।
घरायसी कामले गाउँमा आएका भिसी पुनका परिवारसहित स्वर्गीय पुन र जेठी श्रीमति धनरुपी तिलिजाको समाधिस्थलमा पुगेर योगदानको सम्झना गरिएको थियो । बेगखोलाको बादुक गाउँमा कविराम र आमा तनिसा तिलिजाको कोखबाट १९२३ मार्चमा जन्मिएका पुन २० बर्षको उमेरमा वेलायती सेनामा भर्ती भएका थिए । पुनको बादुक तिप्लाङस्थित आफ्नै घरमा सन् २०११ अप्रिल २० मा ९० बर्षको उमेरमा निधन भएको थियो । हरेक बर्ष विभिन्न कार्यक्रम गरी गाउँमा पुनको सम्झना गर्ने गरिन्छ ।

No comments